वैशाख

Subject: Nepali

Find Your Query

Overview

यस पाठमा माधवप्रसाद घिमिरेको परिचय बारे उल्लेख गरिएको छ |उनको पेशागत जीवनको बारेमा चर्चा गरिएको छ | मन्दाक्रान्ता छन्दमा रचना गरिएको प्रस्तुत कवितामा कवि घिमिरेले वैशाख शीर्षकदिएर बसन्त ऋतुको वर्णन गर्दै प्रकृतिको सुन्दर चित्रण गरेका छन् |
वैशाख

 

बैशाख 

माधवप्रसाद घिमिरेको परिचय :

नाम                   -     माधवप्रसाद घिमिरे 

उपनाम              –     राष्ट्रकवि

जन्म                      वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन,

कार्यक्षेत्र                    लेखन

विधा                  –      गद्य तथा पद्य

विषय                 –      कविता, काव्य, नाटक, निबन्ध, यात्रा संस्मरण आदि

सम्मान/पुरस्कार  –      'राष्ट्रकवि' को उपाधिले, पद्यश्री साधना सम्मान र अन्य

 

       नेपाली साहित्यका बहुमुखी प्रतिभाका धनी माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालाबाट उनले प्रथमा उत्तीर्ण गरे । त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे | घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।

       स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन् । उनी बाल्यावस्थादेखी निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख - प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा कलम चलाउदै अएका बहुमुखी प्रतिभा हुन | प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाईहरु दिर्घसाधना ले भरिएका छन । उनले १९९२ सालमा गोरखापत्रमा आफ्नो पहिलो कविता छपाए । उनका नवमञ्जरी (१९९४), घामपानी (२०१०), नयाँ नेपाल (२०१३), किन्नर-किन्नरी (२०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन् । त्यसै उनका मुख्य-मुख्य कृतिहरूमा गौरी, राजेश्वरी, पापिनी आमा, राष्ट्रनिर्माता, किन्नरकिन्नरी, शकुन्तला, मालतीमङ्गले आदि छन् | 

 

 

पेशागत जीवन र अन्य 

       माधवप्रसाद घिमिरे १४ वर्षको उमेरमा वि.सं.१९९२ सालमा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे । घिमिरे २००५ सालमा गोरखापत्र मै सह-सम्पादकको जागिरे पनि भए । वनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे । त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद को अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य भए | वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए ।

     घिमिरेका चर्चित राष्ट्रिय गीत गाउँछ गीत नेपाली'  का रचनाकारका साथै अन्य चर्चित गीत हरूमा 'फूलको थुङ्गा बगेर गयो'  (तारादेवी) तथा 'आजै र राति के देखे सपना' (नारायण गोपाल) छन्। उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे ।

कविता परिचय

     मन्दाक्रान्ता छन्दमा रचना गरिएको प्रस्तुत कवितामा कवि घिमिरेले वैशाख शीर्षकदिएर बसन्त ऋतुको वर्णन गर्दै प्रकृतिको सुन्दर चित्रण गरेका छन् | यस कवितामा राष्ट्रिय भाव पनि पाइन्छ | यस कविताको रचनामा उनले सामाजिक सन्दर्भ र मानवीय जीवन दर्शनलाई पनि सामान्य रूपमा उल्लेख गरेका छन् | कविको कारूणिक तथा कलात्मक स्वरूप सङ्गीत बनेर कवितामा प्रस्तुत भएको छ | कविमा भएको प्रकृतिप्रेमको प्राचुर्यले नै यस किसीमको सरल, सरस, सुमधुर कविताको सिर्जना हुन सकेको हो |

 

 

Things to remember

नेपाली साहित्यका बहुमुखी प्रतिभाका धनी माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको      पुस्तुन गाउँमा भएको ।

- स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन् ।

 -  उनका नवमञ्जरी (१९९४), घामपानी (२०१०), नयाँ नेपाल (२०१३), किन्नर-किन्नरी (२०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन् । त्यसै उनका मुख्य-मुख्य कृतिहरूमा गौरी, राजेश्वरी, पापिनी आमा, राष्ट्रनिर्माता, किन्नरकिन्नरी, शकुन्तला, मालतीमङ्गले आदि छन् | 

-मन्दाक्रान्ता छन्दमा रचना गरिएको प्रस्तुत कवितामा कवि घिमिरेले वैशाख शीर्षकदिएर बसन्त ऋतुको वर्णन गर्दै प्रकृतिको सुन्दर चित्रण गरेका छन् | यस कवितामा राष्ट्रिय भाव पनि पाइन्छ | यस कविताको रचनामा उनले सामाजिक सन्दर्भ र मानवीय जीवन दर्शनलाई पनि सामान्य रूपमा उल्लेख गरेका छन् |

 

 

 

 

 

 

 

 

 

  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.
Questions and Answers

राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लेखिएको 'वैशाख' शीर्षकको कवितामा वसन्त ऋतुको आगमनसँगै प्रकृतिमा देखिने परिवर्तनलाई प्रस्तुत गरिएको छ | बोटबिरूवा र चहुरहरू तथा डाँडाकाँडा सबै पालुवाले हरिया र सुन्दर देखिन्छन् | वसन्ती हावा विभिन्न फूलका वासनाहरू लिएर चारैतिर बहन्छ | मौरीहरू फूलको रस लिन झुम्मिन्छन्, गुराँस र बुकीफूलले प्रकृतिलाई निकैनै सुन्दर बनाएको हुन्छ | लेकमा गुहेंलो पाकेको हुन्छ, कस्तुरी सुगन्ध खोज्दै गिरिवन घुम्दछ, रङ्गीचङ्गी फूलहरूले प्रकृतिलाई सजाएका हुन्छन् | कोयलीले पनि वसन्तको आगमनलाई  कुहूकुहूको गीतले स्वागत गरिरहेको हुन्छ | गोठालो सुसेली हाल्दै हिड्दछ, ऋतुपरिवर्तन हुनासाथ यो सुन्दर वातावरण पनि परिवर्तन हुन्छ | जब जेठको प्रचण्ड गर्मीले फूलहरू ओइलिन्छन्, कोयलीको गीत पनि सुनिदैन | यस्तै किसिमको प्राकृतिक वर्णन कविले यस कवितामा गरेका छन्

|

वसन्त ऋतुको समय चैतवैशाख महिनामा वनपाखाहरूमा विभिन्न जातका हजारौं फूलहरूका बिरूवा उम्रन्छन् र भएका बिरूवाहरूमा नानाथरीका फूलहरू फुलिरहेका हुन्छन् | यही  समयमा वहने मधुपवनले मीठो वासना लिएर आउँदछ, प्रत्येक वृक्षका पालुवामा कोइली पनि नाच्दै रमाउदै कुहूकुहू गीत गएर वसन्तको आगमनबाट सिंगारिएको सम्पूर्ण प्रकृतिको स्वागत  गरिरहेको हुन्छ | बुकीफूल फुलेका हुन्छन्, गुहेंलो पाकेको हुन्छ, मौरीहरू विभिन्न फूलहरूमा झुम्मिएका हुन्छन्, धवलागिरि लगायत विभिन्न हिमशिखरहरू टल्किरहेका हुन्छन् | यस्तो प्राकृतिक सौन्दर्यले कवि स्वयंले अनुभूति गरेको र त्यस अनुभूतिलाई यसरी कविले कवितामा प्रस्तुत गरेका छन् |

समय परिर्वतनशील छ, यो प्रकृतिको नियमनै हो | ऋतुपरिवर्तन हुँदा वनस्पतिको जीवनमा वा प्रकृतिको वातावरणमा परिवर्तन आएजस्तै मानव जीवनमा पनि समयको गतिसँगै परिवर्तन भइरहन्छ | जीवन क्षणिक वा छोटो छ, वसन्तमा फक्रिएका फूल र मुस्कुराएर रमाउँदै नाचेका कोइलीको त्यो सुखद् अवस्था वसन्तको समाप्तीसँगै जसरी अन्त्य हुन्छ र पुनः दु:खद् अवस्था सिर्जना हुन्छ ठीक त्यस्तै नेपाली समाजमा पनि अवस्था रहेको पाइन्छ | प्रकृतिका बिटबिरूवामा लागेका घाउहरू क्रमशः नयाँ बोक्रा पलाउँदै आएर पुराना बोक्राहरू उक्किन्छन्, पातहरू झर्दछन् र वनस्पतिको  जीवनमा वसन्तबहर आएजस्तै नेपाली समाजले पनि नवीनताको अपेक्षा राखेको छ | समाजलाई परिवर्तनको दिशामा अगाडि बढाउन नेपालीहरू चाहन्छन् | अर्थात नेपाली समाजले पुराना मान्यता जुन बदलिदो समयको गतिसँग मेल नखाने विषय (पक्ष) हरू छन् तिनीहरूलाई पन्छाउँदै नवीन विषय (पक्ष) को स्थापना गर्न अघि बढ्ने लक्ष्य लिएको छ | यसरी वैशाख कवितामा कविले प्रकृति र नेपाली समाजको सामाजिक जीवनको अवस्था परिवर्तनमुखी रहेको चित्र प्रस्तुत गरेका छन् |

वसन्तऋतुको वातावरणमा सिर्जना भएका नयाँ वनस्पतिको उपभोगमा मानिस सक्रिय हुन्छ | हरेक क्षण नवीन वस्तुको प्रयोग गर्ने चाहना मानिसमा रहेको हुन्छ | सोहीअनुरूप यहाँ गुरुङसनी, नेवार्नी र भोटेनी देखिएका छन् | पालुवामा कोइली, फूलको रसमा मौरी, हरिया , पिपिरमा गाईवस्तु रमाएजस्तै गुरुङ्सनी, नेवार्नी र भोटेनी पनि गुराँस मधुसुमन र बुकीफूलमा रमाएका छन्, अर्थात यी फूलहरूले उनीहरू भित्रको चाहनालाई पूर्ण गराएका छन् | गुरुङ्सनीले गुराँसको फूल टिपेकी छन्, नेवार्नीले सुन्दर फूललाई केशको चुल्ठोमा बाँधेर सजाइदिइन् र भोटेनीले बुकीफूललाई चौबन्दी चोलोको तुनामाबाँधेर सजाइन् | यसरी सबैले आफूलाई मन परेका वस्तुहरूको प्रयोग गरेर रमाएका छन् |

परिवर्तन प्रकृतिको शाश्वत नियम हो | एउटै अवस्थामा कुनै पनि वस्तु रहिरहन सक्दैन, समय गतिशील छ, समयको गतिसँगै विभिन्न वस्तुहरू पनि परिवर्तन भइरहन्छन्, परिवर्तन नै  प्राकृतिक नियम हो | प्रकृतिमा ऋतुपरिवर्तन हुन्छ, अर्थात हरेक दुईदुई महिनामा प्राकृतिक वातावरणमा परिवर्तन आउँछ | यो क्रम सृष्टिको नियमअनुसार चलि नै रहन्छ | यो प्रकृतिमा देखा पर्ने परिवर्तनको प्रक्रिया निरन्तर रूपमा गतिशील बनी अगाडि बढिरहेको हुन्छ | यस्तो प्राकृतिक परिवर्तनको अवस्थालाई कसैले अवरोध गर्न सक्दैन, चैत्र र वैशाखको प्राकृतिक वातावरण जेठ र आषाढ महिनामा फेरिएको हुन्छ, वसन्तका फूलहरू ग्रीष्ममा ओइलाउँदछन्, कोइलीको सुमधुर भाका पनि हराउँछ, यिनीहरूका लागि वसन्तको आनन्ददायी एवं सुखकर जीवन पीडादायी एवं कष्टकर रूपमा जसरी परिणत हुन्छ, ठीक त्यसरी नै परिवर्तन प्रक्रिया प्राकृतिमा मानव जीवनमा पनि रहेको हुन्छ | समय बलवान छ, त्यसैले प्रकृतिमा भएका सारा वस्तुलाई आफ्ना अधीनमा राखेर उसले डोर्याएको हुन्छ | अत: प्रत्येक विषय वा वस्तुमा देखिने परिवर्तन प्राकृतिक नियम नै हो भन्न सकिन्छ |

कविवर माधवप्रसाद घिमिरेले प्रस्तुत कवितामा परिवर्तन एउटा निरन्तर चलिरहने प्रक्रिया हो र यो शाश्वत नियम पनि भन्ने कुरालाई प्रस्तुत गरेका छन् | समय गतिशील छ, प्राकृतिक वातावरण पनि समयअनुसार नै चलिरहेको हुन्छ, जसरी प्रत्येक दुई दुई महिनामा प्राकृतिक वातावरण परिवर्तन हुन्छ, त्यसरी नै मानव जीवन पनि निरन्तर परिवर्तन हुँदै जान्छ | प्राकृतिक परिवर्तनलाई मौरी, कोइली, कस्तुरी आदिले स्वागत गरेजस्तै मानिसले पनि परिवर्तनलाई त्यसरी नै स्वागत गरी स्वीकार गर्नुपर्दछ | समयको गतिसँगै रूखका पात र बोक्रा फेरिने र घाउ पुरिए जस्तै नेपाली समाजमा रहेका परम्परागत थोत्रा भैसकेका सामाजिक मूल्य, मान्यता र वेथितिहरू पनि हट्दै नवीन मूल्य, मान्यता, परम्परा र नियमको स्थापना हुनुपर्छ भन्ने केन्द्रीय भाव यस कवितामा पाइन्छ |

   प्रस्तुत पद्यांश हाम्रो कक्षा दसको नेपाली पाठ्यपुस्तकको 'वैशाख' शीर्षक कविताबाट झिकिएको हो | यस कविताका लेखक कविवर माधवप्रसाद घिमिरे हुन् | उनको जन्म वि.सं. १९७६ मा लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको हो | कवि घिमिरेले गौरी, राजेश्वरी, राष्ट्रनिर्माता, पापिनी आमा, मालतीमङ्गले आदि जस्ता अमूल्य काव्यकृतिहरू रचना गरी नेपाली साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन् |

   शास्त्रीय छन्दका शिल्पी कवि घिमिरेले प्रस्तुत कवितामा ऋतुपरिवर्तनसँगै वातावरणमा हुने परिवर्तनका माध्यमबाट नेपाली जनताको परिवर्तनको अपेक्षालाई उजागर गर्ने क्रममा उक्त पद्यांश प्रयोग गरेका हुन् | कविले आफ्नो अन्तरआत्मामा उन्पन्न भएका राष्ट्रप्रेमका धवलागिरि जस्तै उच्च, स्वच्छ र पवित्र भावना तथा आकाङ्क्षालाई पूरा गर्न नसकेकाले गुनासो व्यक्त गरेका छन् | आफूले गरेका कार्यप्रति कवि यहाँ असन्तुष्ट देखिन्छन् | धवलागिरिको शिखरमा पुग्न नसक्नु ए नेपालीको हृदय छुन अहिलेसम्म नसकेको कुरा  एकातर्फ कविले यहाँ व्यक्त गरेको देखिन्छ भने अर्कातिर राज्यको शासनको वागडोर हातमा लिएर नेतृत्व गर्ने व्यक्तिले राष्ट्रको आवश्यकता अनुरूप कार्य गर्न नसकेकोतर्फ उक्त कविताको अंशमा साङ्केतिक रूपमा व्यङ्ग्य गरेको देखिन्छ | 

     माथि प्रस्तुत पद्यांश हाम्रो कक्षा दसको नेपाली पाठ्यपुस्तकको 'वैशाख' शीर्षक कविताबाट झिकिएको हो | यस कविताका लेखक कविवर माधवप्रसाद घिमिरे हुन् | उनको जन्म वि.सं. १९७६ मा लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको हो | सर्वदर्शन विषयमा स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका राष्ट्रकवि घिमिरेले गौरी, किन्नरकिन्नरी, राजेश्वरी, राष्ट्रनिर्माता, शकुन्तला, मालतीमङ्गले आदि जस्ता अमूल्य काव्यकृतिहरू रचना गरी नेपाली साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन् |

   प्रस्तुत कविताका अंश कवि घिमिरेले वसन्त ऋतुमा प्रकृतिमा सिर्जना भएका सौन्दर्यप्रति कविहृदयमा उत्पन्न अनुरागलाई व्यक्त गरेका छन् | चैत र वैशाख महिना वसन्त ऋतुको समय हो, ऋतुराज वसन्तको समयमा चारैतिर प्राकृतिक वातावरण सुन्दर बनेको हुन्छ, प्रकृतिप्रेमी कवि घिमिरे पनि ऋतुराजप्रति आकर्षित भएका छन् | चैत र वैशाखलाई उनले मेरा भनेर त्यस समयप्रतिको प्रेमलाई सम्बोधन गरेका छन् | उक्त समय कविका जीवनमा सधैँ आइरहने र आएर कहिल्यै नसकिने समय हो, अर्थात यो समयको तस्वीर कविहृदयमा सजिएर बसेको छ, जसप्रति कवि घिमिरेको अनन्त प्रेम छ | कविका हृदयमा चैत र वैशाखको सुन्दर प्राकृतिक वातावरणप्रति उत्पन्न भएको प्रेम कहिल्यै सकिदैन, रित्तिदैन भन्ने धारणा प्रस्तुत कविताका अंशमा पाइन्छ |

      नेपाली साहित्यका बहुमुखी प्रतिभाका धनी राष्ट्रकवि तथा कविवर माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ सालमा लमजुङ्ग जिल्लाको पुस्तुन गाउँमा भएको हो | गौरी, राजेश्वरी, पापिनी आमा, शकुन्तला, मालतीमङ्गले जस्ता बहुचर्चित शोक काव्य, खण्डकाव्य र पद्यात्मक काव्य आदिको रचना गरी कवि घिमिरेले नेपाली साहित्यको क्षेत्रमा ठूलो योगदान दिएका छन् | यस कवितामा घिमिरेले प्रकृतिप्रेमीको रूपमा आफूलाई चिनाएका छन् |

      विवेच्य कवितामा कविले प्रकृति र मानवजीवन दुवै पक्षबीच एक आपसमा घनिष्ठ सम्बन्ध रहेको कुरालाई देखाएका छन् | प्राकृतिक वातावरणमा निरन्तर भइरहने परिवर्तनले मानव लगायत सम्पूर्ण प्राणीलाई प्रकृतिले प्रभावित पारिरहेको हुन्छ भन्ने कुरालाई कविले प्रमाणित गरेका छन् | छ वटा ऋतुहरूमध्ये कवि यहाँ वसन्तऋतुको समयमा प्रकृतिमा आउने परिवर्तन कस्तो रूपमा हुन्छ भन्ने कुरालाई देखाउँदछन् | वसन्तऋतुमा मात्र प्रकृतिमा परिवर्तन आउँछ भन्ने आशय कविको होइन, सबै ऋतुमा प्रकृतिमा परिवर्तन आउँछ तापनि यस कवितामा कवि वसन्त ऋतुमा भएको परिवर्तनप्रति बढी मोहित तथा आकर्षित भएको कुरा प्रस्तुत कविताले सङ्केत गरेको छ |

      वसन्त ऋतुको समयमा चाहुर र डाँडाकाँडा हरिया हुनुका साथै गुरुङ्सेनीले गुराँसको फूल केशमा र भोटेनीले बुकी फूल चौबन्दी चोलोको तुनामा बाँधेर खुशी र आनन्द लिन्छन् भने कोइलीले पनि वन वनमा घुमेर मीठो प्रीतिको गीत घन्काईरहेको हुन्छ | विवेच्य कवितामा हरेक प्राणी आफ्नो जीवनमा वसन्तको आगमनलाई सहर्ष स्वीकार गरी त्यसमा रम्न चाहन्छन् भन्ने कुरालाई कविले पुष्टि गरेका छन् | वसन्त ऋतुको समय चैत र वैशाख महिना कविका लागि कहिल्यै आएर सकिदैनन् | अर्थात् चक्र जस्तै घुम्दै फिर्दै हरेक बर्ष आई नै रहन्छन् र यस ऋतुप्रतिको आफ्नो अन्तरात्माको हृदयमा उब्जिएको प्रेम पनि अनन्त भएको कुरा कवि यहाँ व्यक्त गर्दछन् | वसन्त ऋतुमा फूलेका फूलहरू जेठ महिमाको प्रचण्ड गर्मीमा वैलिने, कोइली पनि वनको पालुवा रूपी माइतीघर छोडेर विरहले हिड्ने र फूलको जस्तै कोमल तथा सुन्दर जवानीलाई हाँस्दै खेल्दै छोटो समय हामी मानिसहरू पनि यहाँ बिताउँदछौ |

      प्रकृतिमा बोट बिरूवामा बोक्रा उप्किएर भएका घाउहरू समयको गति सँगसँगै जसरी पुरिन्छन् ठीक त्यसैगरी मानव जीवनमा पनि विगतमा सिर्जना भएका दु:ख र कष्टपूर्ण समयहरू वसन्तको आगमनसँगसँगै नयाँ वातावरणमा प्रवेश गर्दछ भनी मानवजीवनमा आउने परिवर्तन र प्रकृतिमा आउने परिवर्तनका बीचको अन्तरसम्बन्धलाई विवेच्य कवितामा कवि घिमिरेले यसरी चित्रण गरी प्रस्तुत गरेका छन् |

      नेपाली साहित्यका क्षेत्रमा प्रकृतिप्रेमी एवं राष्ट्रवादी धारमा कलम चलाउने एक सशक्त प्रतिष्ठित साहित्यकार राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ सालमा लमजुङ्ग जिल्लाको पुस्तुन गाउँमा भएको हो | शास्त्रीय छन्दका शिल्पी कवि घिमिरेले नेपाली साहित्यका क्षेत्रमा गौरी, राजेश्वरी, पापिनी आमा, शकुन्तला, मालतीमङ्गले जस्ता बहुचर्चित काव्य, खण्डकाव्य र पद्यात्मक काव्य आदिको रचना गरी उल्लेखनीय योगदान दिएका छन् | यस कवितामा कवि घिमिरे प्रकृतिप्रेमी देखिए पनि उनले यहाँ सामाजिक सन्दर्भ र मानवीय जीवन दर्शनलाई पनि केही मात्रामा उल्लेख गरेका छन् |

      प्रस्तुत कविताका आधारमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सौन्दर्यप्रेमी र आशावादी कविका रूपमा चिनाउन सकिन्छ | ऋतुराज वसन्तको सौन्दर्यपूर्ण प्राकृतिक वातावरणको कवि घिमिरेले यस कवितामा चित्रण गरेका छन् | चैतवैशाख कविका ज्यादै प्यारा महिना हुन्, जुन ऋतुराजको महिना पनि यही हो | यस समयमा डाँडाकाँडा, वनजङ्गल, चहुर आदि निकै नै सिन्दर र मनमोहक देखिन्छन् | चारैतिर वासन्तीपवन वहेर सुगन्ध फिजाउँछ | लेकमा गुहेंलिले मौरीलाई रसपान गर्न बिलाउँदछ, भोटेनी, नेवार्नी र गुरुङ्सेनीले गुराँस, बुकीफूल आदिले चुल्ठो र चौबन्दी चोलोको तुनामा बाँधेर आफ्ना जीवनलाई अझ सुन्दर र आकर्षक बनाई सजाउँदैछन् | चारैतिर कोइली नयाँ पालुवामा लुटपुटिदै कोहोकोहोको सुमुधुर भाकाले ऋतुराज वसन्तलाई स्वागत गरिरहेको हुन्छ | हिमशिखरहरू टल्किरहेका हुन्छन्, कस्तुरी पनि गिरिवनमा आफ्नै सुगन्ध खोज्दै चारैतिर घुम्दछ | यस्तो प्राकृतिक सौन्दर्यको वर्णन यस कवितामा भएकोले कवि घिमिरेलाई सौन्दर्यप्रेमी कविका रूपमा चिनाउँन सकिन्छ |

      प्रस्तुत कवितामा 'वैशाख' मा हाम्रो समाज परिवर्तनको दिशातर्फ उन्मुख हुने आशावादी दृष्टिकोण कविले व्यक्त गरेका हुँदा उनलाई आशावादी कविका रूपमा पनि चिनाउन सकिन्छ | जसरी प्रकृतिमा ऋतुपरिवर्तनसँगै वातावरण पनि परिवर्तन हुन्छ ठीक त्यसरी नै हाम्रो समाजदेखि राष्ट्रको सम्पूर्ण जीवनमा परिवर्तन अवश्य हुन्छ भन्ने तर्फ कवि पूर्णरूपमा यहाँ आशावादी देखिन्छन् | चैतवैशाखको जस्तो सुन्दर समय निरन्तर आइरहने, यसप्रतिको कविहृदयमा उत्पन्न प्रेम कहिल्यै नसकिने र बोटबिरूवाका पुराना बोक्रा उप्कने, पातहरू झर्ने र त्यसका स्थानमा नवीन पालुवाको सिर्जना हुने तथा घाउमा बोक्रा पलाएर पुरिए जस्तै नेपाल र नेपाली समग्र जीवनमा परिवर्तन आउने आशा कविले  विवेच्य कवितामा व्यक्त गरेबाट उनलाई आशावादी  कविका रूपमा पनि चिनाउन सकिन्छ | 

 

© 2019-20 Kullabs. All Rights Reserved.